पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ। ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलको आयोजनामा सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ।

चार दिने ल्यान प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ। ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाईलको तर्फबाट ई स्पोट्र्स काउन्टिका ग्लोबल स्पोट्र्स हेड इमाम हुसेन अफरिदीले कार्यक्रम आयोजना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रतियोगितामा दक्षिण एसियाका १६ पब्जी टिमले ग्लोबल छनोट हुने लक्ष्य सहित ४० हजार अमेरिकी डलर प्राइज पुलका लागि प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी १६ टिम सहभागी हुनेछन्।

नेपालबाट आमन्त्रित टिमको रुपमा होरा ई स्पोट्र्स सहित टीटूके, हिडन लिफ ई स्पोट्र्स र द गेमिङ ब्रोस्किजले प्रतियोगितामा चुनौती पेश गर्नेछन् । प्रत्येक दिन ६ गरी चार दिनमा २४ वटा खेल हुनेछन्।

ईशानका सचिव दाहालले पब्जी मोबाईलको राष्ट्रिय प्रतियोगिताको सफल आयोजना पश्चात ग्लोबल ओपनको अन्तराष्ट्रिय कार्यक्रम नेपालमा हुन लागेको बताए। पब्जी मोबाईलका तर्फबाट ग्लोबल ई स्पोट्र्स हेड अफरिदीले ई स्पोट्र्स अन्तर्गत पब्जीको लोकप्रियताले ग्लोबल ईभेन्टका लागि नेपाल उपयुक्त थलो बनेको उल्लेख गरे। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुने पब्जी मोबाईलको अन्तराष्ट्रिय प्रतियोगितालाई ईशानले नेपालमा प्रबद्र्धन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *