पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित गर्‍यो ।

उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो । याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो ।

व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन् । उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन् । कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताको फाइनल समारोहमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । उनले महिला खेलाडीलाई खेलकुदमा सक्रिय बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उपप्रमुख बज्राचार्यले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सशक्तीकरण बढाउन यस्ता प्रतियोगिता प्रभावकारी हुने धारणा राखिन् ।

उनले भनिन्, “महिलाहरूलाई खेलकुदमा अगाडि बढाउन प्रतिस्पर्धाका अवसरहरू निरन्तर सिर्जना गर्नुपर्छ । खेलकुद केवल प्रतियोगिता मात्र होइन, यसले महिलालाई आत्मविश्वासी, सक्षम र नेतृत्वदायी बन्न प्रेरित गर्छ ।”

पेसएक्स स्पोर्ट्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णले महिला खेलाडीलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गर्नुको उद्देश्य उनीहरूलाई आफ्नो प्रतिभा देखाउने र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेको बताइन् ।

कर्णले भनिन्, “महिला खेलाडीमा प्रतिभाको कुनै कमी छैन, आवश्यकता केवल सही अवसर र प्रोत्साहनको हो । यही सोचका साथ हामीले महिला फुटसललाई प्राथमिकतामा राखेर यो प्रतियोगिता आयोजना गरेका हौँ । आगामी दिनमा पनि महिला खेलाडीलाई अझ ठूलो मञ्च प्रदान गर्दै उनीहरूको क्षमता विकास र खेलकुद यात्रामा पेसएक्सले निरन्तर साथ दिनेछ ।”

उनले प्रतियोगितामा सहभागी सबै टोलीको उत्साह र प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै यस्तो प्रतियोगिताले महिला फुटसलको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

पेसएक्स स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कुल १२ महिला टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले महिला फुटसलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय महिला खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *