नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगितामा सगरमाथा स्मासर्सले विजयी शुरूआत गरेको छ ।
सगरमाथाले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१ सेटमा पराजित गरेकाे हाे ।
प्रारम्भदेखि नै खेल निकै प्रतिस्पर्धात्मक रूपमा अघि बढेको थियो । पहिलो सेटमा सगरमाथाले मधेशलाई २५–२१ अंकले पछि पार्यो । दोस्रो सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक थियो । तर, दोस्रो सेटको नतिजालाई पनि सगरमाथाले २५–२१ अंकले नै आफ्नो पक्षमा पार्यो । झनै रोमाञ्चक बनेको तेस्रो सेटको नतिजालाई मधेशले आफ्नो पक्षमा पार्यो । उक्त सेटमा मधेश २५–२३ अंकले विजयी भयो ।
त्यसपछि चौथो सेटको खेलले कभर्डहलमा खचाखच भरिएका दर्शकलाई भरपूर मनोरञ्जन दिने पक्का थियो । तर, यो सेटमा मधेशले लय गुमायो । अन्तत: चौथो सेटको नतिजालाई २५–१५ अंकले आफ्नो पक्षमा पारेर सगरमाथाले उद्घाटन खेल जित्दै प्रतियोगितामा विजयी शुरूआत गर्यो ।
