काठमाडौं । साइन विथ पर्पोज एन्ड जोय (एसडब्लुपीजे) ‘ए’ ले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नखिपोट फोल्क्सको आयोजनामा नखिपोटस्थित फुटसल भिलेजमा भएको फाइनलमा एसडब्लुपीजे ‘ए’ ले आफ्नै ‘बी’ टोलीलाई ३–० गोलले पराजित गर्यो ।
विजयी टिमका लागि कप्तान दीपा राई, विमला थापा र जेनिफर राना मगरले गोल गरे । विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार प्राप्त गरे ।
दीपा उत्कृष्ट खेलाडी घोषित भइन् । दीपाले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन् । सातदोबाटो एफसीकी कप्तान रेजिना मगर उदीयमान खेलाडी तथा एसडब्लुपीजे ‘ए’ की कविता विक उत्कृष्ट गोलरक्षक चुनिए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाङ, मिनुवा रिक्रुट प्रा.लि. का सञ्चालक हेम राई, आकर्षण इन्टरनेसनल प्रा.लि. का सञ्चालक मिलन थापा, व्यवसायी प्रवीण राई, आयोजक नखिपोट फोल्क्सका संयोजक समित बेघा लिम्बूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा २१ टिम सहभागी थिए ।
