काठमाडौं । विद्यालयस्तरीय खेलकुद प्रतियोगताको पुरानो प्रतियोगिता मध्येको एक स.बल ज्ञान कार्निभलको ३२ औं संस्करण सोमबारदेखि सुरु हुने भएको छ ।
कार्निभलअन्तर्गत ब्वाइज÷गल्र्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले जानकारी गराइन् ।
महिला फुटबललाई प्रोत्साहित गर्ने उद्देश्यले लामो इतिहास बोकेको ज्ञान कार्निभलमा पहिलोपटक गल्र्स फुटबल समावेश गरिएको ज्ञानोदयका सिनियर भाइस प्रिन्सिपल भानु एले बताए ।
स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा हुन लगेको प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज÷गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने ज्ञानोदयका बास्केटबल प्रशिक्षक मनीष लामाले जनाएका छन् ।
फुटबलको ब्वाइजमा सहभागी ९ टिम २ समूहमा विभाजित भएर लिग कम नकआउट आधारमा खेल खेल्ने छन् । सुपर लिगका आधारमा हुने गल्र्स फुटबलमा ७ टिमले भाग लिने छन् । सुपर लिगमा शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् ।
स.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीले विद्यालय खेलकुदमा स्थापित र लोकप्रिय प्रतियोगिता ज्ञान कार्निभलसंग जोडिन पाउनु गर्वको विषय भएको बताए ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेका कारण प्रतियोगिताको उद्घाटन कार्यक्रम सामान्य हुने आयोजक ज्ञानोदयले जनाएको छ । दसदिने प्रतियोगिताका खेलहरु बुङमतीस्थित आयोजक ज्ञानोदयकै हातामा खेलाइने छ । ज्ञान कार्निभल सन् १९९४ बाट सुरु भएको हो ।
