नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा हारबाट यात्रा सुरु गरेको छ । शुक्रबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा भएको खेलमा आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग नेपाल ‘ए’ आठ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य एनटी स्ट्राइकले १५ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो । टोलीको जितमा डाउट्जी हुगेनबोएजेमले अविजित अर्धशतक प्रहार गरे ।

उनले ३७ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ५० रन बनाए । जोर्डन सिल्कले पनि ४२ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए । कप्तान डार्सी सर्टले २३ रनको योगदान गरे ।

नेपालका लागि बलिङतर्फ पवन सराफले दुवै विकेट लिए पनि अन्य बलरले एनटीको ब्याटिङलाई रोक्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

नेपालको ब्याटिङमा पवन सराफले सर्वाधिक ४१ रनको योगदान गरे । उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । तर, अन्य ब्याटरले अपेक्षाअनुसार ठूलो स्कोर बनाउन नसक्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न सकेन ।

लोकश बमले १६, नारायण जोशीले १५, कप्तान अनिलकुमार साहले १४, तृतराज दासले १३ तथा राशिद खानले १० रन जोडे ।

एनटी स्ट्राइकका हामिश मार्टिनले तीन विकेट लिए । टम मोन्जिस, विलियम ब्लेयर, साम बार्कर र कप्तान डार्सी सर्टले एक–एक विकेट हात पारे ।

१२३ रनको तुलनात्मक रूपमा कमजोर लक्ष्य पछ्याएको घरेलु टोलीले सुरुदेखि नै नियन्त्रणमा ब्याटिङ गर्दै १५ ओभरमै खेल आफ्नो पक्षमा पार्‍यो । नेपाल ‘ए’ अब लगातार दोस्रो खेलमा शनिबार बंगलादेश हाई पर्फमेन्स टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *