काठमाडौं । अल इण्डिया चेस फेडेरेशन एआईसिएफको आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिख सम्म सञ्चालन हुने एशियन जुनियर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बईमा प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाडी एआईएम अभिक शाह र दानिशा पुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन् । उक्त प्रतियोगिताको प्रोटेस्ट तथा अपील कमिटीमा अध्यक्ष हेराकाजी महर्जन तथा फिडे आर्विटर एफए सोराज ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
एशियन जुनियर चेस स्पर्धामा क्लासिकल, रापिड तथा ब्लिट्ज् गरि तीन विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछ। जस अन्तर्गत क्लासिकल तर्फ ९ चरण, रापिड र ब्लिट्ज् समान ७ चरणका खेल हुनेछन् । खेलमा ६ राष्ट्रका ६२ खेलाडीले स्वर्ण , रजत र काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विश्व बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगितामा विजेताले अन्तर्राष्ट्रिय मास्टरको टाइटल सहित ग्रायण्ड मास्टरका लागि नर्म हासिल गर्नेछन् । उपविजेता र तृतीय हुने खेलाडीले फिडे मास्टर टाइटल तथा अन्तर्राष्ट्रिय मास्टरको नर्म प्राप्त गर्नेछन् ।
नेपालका १९४८ रेटेड खेलाडी एआईएम अभिक शाहले आफ्नो तयारी राम्रो रहेको र सुखद नतिजा हासिल गर्दै टाइटल प्राप्त गर्ने अवसरको रुपमा लिएको बताए । प्रतिस्पर्धामा उच्च वरियता २४७७ रेटेड आईएम पिङ्गिन अर्टेम, २४०४ रेटेड आईएम आदित्य धिङ्ग्रा, २३८५ रेटेड एफएम लोमादोभ अमानु मोहम्मदले चुनौती प्रस्तुत गर्नेछन् ।
गर्लस् विधा तर्फ दानिशा पुरिले प्रतिस्पर्धालाई अनुभव गर्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य रहेको बताईन्। उनले उच्च वरियता डब्लुएफएम २२१३ रेटेड स्वारालक्षमी, २२०७ रेटेड डब्लुएफएम सोरादोभा लारा, २१२९ रेटेड डब्लुएफएम प्रतिती वोर्डोलोइको चुनौती सामना गर्नेछिन् । एशियन चेस फेडेरेशन तथा फिडेको तत्त्वावधानमा सञ्चालन हुने प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागी निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले थप ग्रेडिङ्ग नर्म समेत प्राप्त गर्ने अध्यक्ष महर्जनले जानकारी गराएका छन् ।
