काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी चैत २० देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा गत अगस्ट २३ र २४ गते बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को बैठकले सागको मिति, खेल संख्या तथा आयोजनासम्बन्धी विभिन्न निर्णय गरेको हो ।
बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी भएका थिए ।
बैठकले १४ औं सागमा २८ खेल समावेश गर्ने निर्णय गरेको छ । तीमध्ये २५ खेलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियार्ड्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल तथा बीच ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल तथा बीच भलिबल, भारोत्तोलन, कुस्ती र उसुमा प्रतिस्पर्धा हुनेछ ।
बिलियार्ड्स, हकी, रग्बी र बीच भलिबलमा महिला सहभागिता रहने छैन । १४ औं सागमा कुल ३४६ पदक इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत ३४६ स्वर्ण, ३४६ रजत र ५१५ कांस्य पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रारम्भिक विवरणअनुसार १४ औं सागमा ३ हजार १७२ खेलाडी र १ हजार १९ जना पदाधिकारी गरी कुल ४ हजार १९१ जनाको सहभागिता रहने अनुमान गरिएको छ ।
सहभागीमध्ये नेपालबाट ५३२ खेलाडी र १५३ पदाधिकारी गरी ६८५ जना रहनेछन् । आयोजक पाकिस्तानबाट ६७० खेलाडी र २०२ पदाधिकारी, श्रीलंकाबाट ६७० खेलाडी र २५१ पदाधिकारी, बंगलादेशबाट ४८२ खेलाडी र १२२ पदाधिकारी, भारतबाट ४७२ खेलाडी र २०२ पदाधिकारी, माल्दिभ्सबाट २६१ खेलाडी र ६८ पदाधिकारी तथा भुटानबाट ८५ खेलाडी र २१ पदाधिकारी सहभागी हुने प्रारम्भिक अनुमान छ ।
पाकिस्तानले १४ औं साग तीन सहरमा आयोजना गर्नेछ । इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा तीन खेल सञ्चालन हुनेछन् । इस्लामाबादमा एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, स्नूकर, फुटबल, कबड्डी, कराते, रोइङ, स्क्वास, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु, सुटिङ र टेबलटेनिस आयोजना हुनेछ ।
लाहोरमा बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्यान्डबल, हकी, रग्बी, पौडी, तेक्वान्दो र कुस्ती आयोजना गरिनेछ। त्यस्तै, पेशावरमा धनुर्विद्या, जुडो र भलिबलका खेल हुनेछन् । १४औं सागको उद्घाटन समारोह इस्लामाबादस्थित जिन्ना रङ्गशालामा आयोजना हुनेछ । उक्त रङ्गशालामा करिब ५० हजार दर्शक अट्ने क्षमता रहेको जानकारी दिइएको छ ।
