काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ । रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल स्पोर्ट्स पार्क ब्लू च्याम्पियन बनेको हो ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले निर्धारित ओभरमा २ विकेट गुमाउँदै ९८ रनको बलियो योगफल तयार गरेको थियो ।

टोलीका लागि नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रनको योगदान दिए । ब्याकयार्ड बीका बलरमध्ये क्रिशले १ विकेट लिँदा १९ रन खर्चिए भने सृजलले विकेटविहीन रहँदै ९ रन दिएका थिए । ९९ रनको लक्ष्य पछ्याएको ब्याकयार्ड बी भने ७ विकेट गुमाउँदै २२ रनमै समेटियो । ब्याकयार्ड बीका लागि सृजलले ८ रन तथा क्रिशले ३ रन बनाए । यससँगै रोयल स्पोर्ट्स पार्क ब्लूले फाइनलमा ७६ रनको फराकिलो जित निकाल्दै किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि जित्न सफल भयो ।

फाइनल खेल सुरु हुनुअघि स्वर्गीय निर्मल पुर्जा (निम्सदाइ) को सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा फाइनलमा पुगेका रोयल स्पोर्ट्स पार्क ब्लू र ब्याकयार्ड बीका खेलाडीहरू, आयोजक समिति तथा उपस्थित सम्पूर्ण व्यक्तिहरूले दुई मिनेट मौनधारण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको समेत उपस्थिति रहेको थियो । उनले खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै सकारात्मक दिशातर्फ अघि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगिताकी ब्रान्ड एम्बेसडर रजिना बिष्टको उपस्थितिले पनि प्रतियोगितालाई थप विशेष बनाएको थियो । नेपाली खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी बिष्टलाई प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा जोड्दै आयोजकले युवा खेलाडीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको जनाएको छ । व्यक्तिगत विधामा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हर्षल भण्डारी कुल ७ विकेटसहित उत्कृष्ट बलर घोषित भए ।

त्यस्तै अमित श्रेष्ठले कुल १०६ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यानको उपाधि हात पारे । प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका लक्ष्मण देवकोटा ९निम्सभाइ० कुल १७ विकेटसहित प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । प्रतियोगिताको सफल समापनसँगै आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोली, खेलाडी, अफिसियल, दर्शक, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

त्यसैगरी आयोजक समितिले प्रतियोगिताका सम्पूर्ण प्रायोजक तथा साझेदारहरूप्रति विशेष आभार व्यक्त गरेको छ । फुड एन्ड हाइड्रेसन पार्टनर जोयज् बर्गर, एजुकेसन पार्टनर फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सी, ट्राभल पार्टनर पाङ्गोलिन ट्राभल्स, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड तथा इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्यान्डले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतियोगितालाई लुम्बिनी विकास बैंक लिमिटेड र रोयल चिया घरको समेत सहयोग रहेको थियो । प्रतिस्पर्धात्मक खेल, उत्कृष्ट व्यक्तिगत प्रदर्शन र उत्साहपूर्ण सहभागितासहित सम्पन्न किङ्स टी–१० इन्डोर प्रतियोगिता सिजन–२ ले नेपाली इन्डोर क्रिकेटमा थप उत्साह र ऊर्जा थपेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *