एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ ।

आज आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई नगद रु. ५० हजार प्रदान गर्दै सम्मान गरेको हो । धामीले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्न सफल भएकी थिइन् ।

उनले प्रतियोगिताभर २५६ रन जोड्दै नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरिन् । उनले प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गर्दै नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडीको रूपमा इतिहास रचेकी छन् ।

प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर अपराजित ७८ रन रह्यो, जुन उनले सिंगापुर यू–१९ महिला टोलीविरुद्ध बनाएकी थिइन् । सबित्री धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन् ।

साथै उनले उक्त सम्मान आफ्ना प्रशिक्षक, टोलीका साथीहरू, परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी, अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सबित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुने बताए ।

उनले प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्दै लगातार तीन अर्धशतक प्रहार गरेर इतिहास रचेकी धामीको प्रदर्शन सम्पूर्ण नेपाली क्रिकेटका लागि प्रेरणादायी रहेको बताए । श्रेष्ठले यस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेषगरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए ।

उनको उपलब्धिको सम्मानस्वरूप अमरावती बुटिक होटलले प्रदान गरेको सम्मानले युवा खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ । धामीले प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई एसीसी महिला यू–१९ एसिया कपमा स्थान बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

जापानविरुद्धको क्वार्टरफाइनलमा उन ४१ रनको योगदानले नेपालले जित दर्ता गर्दै एसीसी महिला यू–१९ एसिया कपमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *