काठमाडौं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप हुने भएको छ ।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित क्लबकै भवनमा साउन १३ देखि २३ गतेसम्म हुनेछ ।
नेपालकै पुरानो क्लबमध्येको एक एनआरटी चर्चित ए डिभिजन फुटबल क्लब पनि हो । काठमाडौँ खेलमण्डल (एनआरटी) वि.सं. १९९१ मा स्थापना भएको क्लब हो । प्रतियोगिताको विजेतालाई १,११,१११।– रुपियाँसहित च्याम्पियन ट्रफी, उपविजेतालाई ५१०००।– रुपियाँसहित ट्रफी तथा सेमीफाइनलिस्टद्वयलाई जनही २५००० हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ ।
यसैगरी सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही र ८० अङकभन्दा बढी हाइएस्ट ब्रेक गर्नेलाई २० हजार रुपियाँ दामाशाही र ट्रफी पुरस्कारस्वरुप दिइनेछ ।
एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले ९२ वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको यस क्लबले फुटबल र क्रिकेटमा नाम कमाएपनि बिलियार्ड्स, स्नूकर, टेबलटेनिस, हक्कीलगायतका खेल पनि लगातार आयोजना गरेर सबै खेलको बिस्तार र विकासमा योगदान पुर्याउँदै आएको बताए । उनेले चाँडै नै क्रिकेट प्रतियोगिताको आयोजना गर्ने योजना रहेको पनि सुनाएका छन्।
नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीले स्नुकरलाई माथि लान लगातार प्रयास गरिरहेको र विभिन्न कार्यक्रमको रुपरेखा तयार पनि गरिररहेको छु, उनले भने । यसैगरी एनआरटीका महासचिव सतिसकृष्ण श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र खेल संस्कृतिको विकासमा यस क्लबले निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए ।
यस प्रतियोगिताका संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यले यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहने जानकारी दिएका छन् ।
प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
यस प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण एन.आर.टी.को आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ ।
