काठमाडौँ । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ माडी नगरपालिका र महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भएका छन् ।
शुक्रबार तेस्रो स्थानका लागि भएको पुरुषतर्फको खेलमा माडीले मेलुङ गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्यो । माडीले २५–२१, २५–२३ र २५–१६ को जित निकाल्दै तेस्रो स्थानसँगै ५० हजार रुपैयाँ पुरस्कार हात पार्यो ।
महिलातर्फ ललितपुरले गौरीशंकर गाउँपालिकालाई ३–१ को सेटमा हरायो। पहिलो सेट २५–२१ ले जितेको ललितपुर दोस्रो सेटमा १६–२५ ले पराजित भएको थियो । त्यसपछि तेस्रो र चौथो सेट समान २५–२३ ले आफ्नो पक्षमा पार्दै ललितपुरले तेस्रो स्थान सुरक्षित गर्यो । यससँगै ललितपुरले पनि ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यसअघि भएको पहिलो सेमिफाइनलमा काठमाडौं महानगरपालिकाले ललितपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछि २५–२३ र २५–१९ ले लगातार दुई सेट आफ्नो पक्षमा पार्यो । चौथो सेट २१–२५ ले गुमाए पनि निर्णायक पाँचौँ सेट १५–५ ले जित्दै फाइनल यात्रा तय गर्यो ।
दोस्रो सेमिफाइनलमा बेथानचोक गाउँपालिकाले गौरीशंकर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो । बेथानचोकले पहिलो र दोस्रो सेट क्रमशः २५–२३ र २५–१२ ले जितेको थियो। तेस्रो सेट २२–२५ ले गुमाए पनि चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्यो ।
महिलातर्फको उपाधिका लागि शनिबार बिहान ८ बजे काठमाडौं महानगरपालिका र बेथानचोक गाउँपालिका आमनेसामने हुनेछन् ।
पुरुषतर्फको उपाधि भिडन्तमा शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन् । सेमिफाइनलमा ललितपुरले माडी नगरपालिकालाई तथा महांकालले मेलुङ गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ ।
