बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनल तथा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी प्रतियोगितामा बिहीबार महिलातर्फ क्वार्टरफाइनल र पुरुषतर्फ सेमिफाइनल चरणका खेल सम्पन्न भए ।

दिनको पहिलो खेलमा महिलातर्फ काठमाडौं महानगरपालिकाले बिगु गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । काठमाडौंले खेल २५–१९, २५–१२ र २५–५ ले आफ्नो पक्षमा पार्यो ।

अर्को क्वार्टरफाइनलमा गौरीशंकर गाउँपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा हरायो । गौरीशंकरले २५–२१, २५–२२ र २५–२१ ले जित निकाल्यो ।

तेस्रो क्वार्टरफाइनलमा बेथानचोक गाउँपालिकाले तार्केश्वर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । पहिलो सेट २७–२५ ले गुमाएको बेथानचोकले त्यसपछिका तीनै सेट २५–२३, २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन जित दर्ता गर्यो ।

अन्तिम क्वार्टरफाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

अब महिलातर्फ शुक्रबार बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले काठमाडौं महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा गौरीशंकर गाउँपालिकाले बेथानचोक गाउँपालिकाको सामना गर्नेछ । शुक्रबार नै तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले माडी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो । ललितपुरले खेल २५–२०, २५–१९ र २५–१९ ले आफ्नो पक्षमा पार्यो ।

अर्को सेमिफाइनलमा महांकाल गाउँपालिकाले मेलुङ गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो । पहिलो सेट २५–२१ ले गुमाएको महांकालले त्यसपछि २५–२०, २५–१८ र २५–१७ ले लगातार तीन सेट जित्दै शानदार पुनरागमन गर्यो ।

अब पुरुषतर्फको उपाधिका लागि शनिबार ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन् । सेमिफाइनलमा पराजित माडी नगरपालिका र मेलुङ गाउँपालिकाले शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

गत मंगलबारबाट सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *