इटहरी । सुनसरीको इटहरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा आत्मा पवित्र एससी, इलाम र इटहरी फुटबल क्लब, सुनसरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा आत्मा पवित्रले धनकुटा जिल्ला फुटबल संघ, धनकुटालाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

आत्मा पवित्रलाई जित दिलाउन वर्षा ओलीले ह्याट्रिकसहित ३ गोल गरिन् भने कल्पना जिम्बा र बिमला चौधरीले समान २-२ गोल गरे । खेलमा प्लेयर अफ द म्याच ह्याट्रिककर्ता वर्षा ओली घोषित भइन् ।

त्यसैगरी मंगलबारै भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा इटहरीले गाईघाट फुटबल क्लब, उदयपुरलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

इटहरीको जितमा समिक्षा मगर, मनिता तामाङ र सुनिता भुलनले समान १-१ गोल गरे । खेलको प्लेयर अफ द म्याच इटहरीकी समिक्षा मगर घोषित भइन् ।

प्रतियोगितामा आज बुधबार फेयर फुटबल क्लब, सुनसरी र सृजनशील महिला फुटबल क्लब, तेह्रथुमबीच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार २० गते शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *