एसियाड सुरक्षा अभिमुखीकरण जारी

२०८३, १३ श्रावण बुधबार १८:३७

काठमाडौं । आइची–नागोया एसियाली खेलकुदको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, मेनेजर र अफिसियलका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ ।

नेसनल ओलम्पिक एकेडेमी (एनओए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा शृङ्खलावद्धरुपमा सुरक्षा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

दोस्रो दिनको सत्रमा कराते, क्रिकेट, उसु, सफ्ट टेनिस, गल्फ, एथलेटिक्स र स्केटबोर्डिङका खेलाडी, प्रशिक्षक, मेनजेरहरुका साथै राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दुई सत्रमा सम्पन्न पहिलो दिन पौडी, ब्याडमिन्टन, धनुर्विधा, कबड्डी, टेबल टेनिस, जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासको सहभागिता रहेको थियो ।

दोस्रो दिन पनि एनओएका सदस्यद्वय प्रतिभा जोशी र डा. प्रमिला थापाका साथै एनओएका निर्देशक सुजनलाल श्रेष्ठले कक्षा सञ्चालन गरेका थिए । उनीहरुले सुरक्षित, सम्मानजनक र समावेशी खेलकुद वातावरणको सुरक्षा, खेलाडी कल्याण र प्रवद्र्धनको महत्वमा जोड दिए ।

यसअघि, एनओएका अध्यक्ष तेजबहादुर गुरुङले दोस्रो दिनको उद्घाटन गरेका थिए । सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सहमहासचिव तथा आइची–नागोया एसियाली खेलकुदका लागि नेपालका सुरक्षा अधिकृत रामजीबहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सुरक्षा अभिमुखीकरण नेपाल ओलम्पिक कमिटीका एसियाडका लागि विभिन्न चरणको तयारीको एक हिस्सा हो । यसको उद्देश्य नेपालको टोलीका सबै सदस्यलाई आइची–नागोया एसियाली खेलकुदअघि सुरक्षा नीति र प्रक्रियाहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *