नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा १२९ खेलाडीलाई समावेश गरिने भएको छ ।
एनभीएलले बुधबार अक्सनमा क्याटोगरी ‘ए’ मा ५६ र क्याटोगरी ‘बी’ मा ७३ खेलाडी रहने जानकारी दिएको हो । अक्सन आइतबार हुँदैछ ।
क्योटगरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य १ लाख २० हजार रुपैयाँ रहनेछ । यसैगरी, क्याटोगरी ‘बी’ का लागि न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य ७० हजार रुपैयाँ तोकिएको छ ।
यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ । खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेस वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन् ।
यसैगरी, अन्नपूर्ण स्पाइकर किंग्समा हिमाल सुनारी, कर्णाली शिवराजमा पहल गहतराज, काठमाडौं रेड्समा सुनिल बोहरा मार्की छन् । यस्तै, खप्तडमा रुपेशकुमार विष्ट, मधेसमा भरत यादव र सगरमाथामा उत्सव खड्का प्रशिक्षक छन् ।
यता, रमेश केसीले अन्नपूर्ण, चन्द्रबहादुर कुँवरले कर्णाली र नृपबहादुर विकले काठमाडौंको प्रशिक्षण सम्हाल्ने छन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँदै छ ।
