काठमाडौं । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता सिद्धार्थ बैंक १८ औं काठमाडौं म्याराथन आगामी असोज २४ गते दशरथ रंगशालाबाट आयोजना हुने भएको छ ।
एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको तयारी अहिले तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस वर्षको काठमाडौं म्याराथनमा करिब १० हजार धावक सहभागी हुने अपेक्षा गरिएको छ । २४ घण्टाका लागि खुलाइएको ‘अर्ली बर्ड रजिस्ट्रेसन’ मै फुल म्याराथन, हाफ म्याराथन र १० किलोमिटर दौडमा मात्रै २ हजार ५ सयभन्दा बढी धावकले नाम दर्ता गराइसकेका छन् ।
यस पटकको अर्को विशेष पक्ष भनेको फुल म्याराथनमा पहिलो पटक २५ जना महिला धावकले सहभागिता सुनिश्चित गर्नु हो । आयोजकले यसलाई नेपाली महिलाको आत्मविश्वास, साहस र खेलप्रतिको बढ्दो आकर्षणको ऐतिहासिक संकेतका रूपमा व्याख्या गरेको छ ।
४२.१९५ किलोमिटरको चुनौतीपूर्ण दूरीमा यति धेरै नेपाली महिलाको सहभागिता देशकै लागि प्रेरणादायी र गर्वको विषय भएको आयोजकको भनाइ छ । सीमित सिट मात्र बाँकी रहेकाले इच्छुक धावकलाई समयमै दर्ता गर्न पनि अनुरोध गरिएको छ। यस वर्षको प्रतियोगितामा विभिन्न उमेर समूह र वर्गलाई समेटेर विभिन्न विधा समावेश गरिएको छ ।
फुल म्याराथन (४२.१९५ किलोमिटर) मा ओपन तथा ४०+, ५०+ र ६०+ मास्टर्स समूह रहनेछन् । त्यसैगरी हाफ म्याराथन (२१ किलोमिटर) मा ओपन तथा ४०+ र ५०+ मास्टर्स, १० किलोमिटर दौडमा ओपन र मास्टर्स, ५ किलोमिटर दौडमा ओपन र कलेज तथा ३ किलोमिटर दौडमा ओपन, विद्यालय र फ्यामिली रन समावेश गरिएको छ । यस संस्करणको विशेष आकर्षणका रूपमा रहेको ३ किलोमिटर फ्यामिली रन मा आमा, बुबा र छोराछोरीले एउटै टोली बनाएर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
परिवारका कम्तीमा तीन सदस्यले एउटै टोली बनाएर दौडन सक्ने भएकाले यसले स्वस्थ जीवनशैलीको प्रवर्द्धनसँगै पारिवारिक एकता र मनोरञ्जनलाई समेत प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ । प्रतियोगितामा नेपाल बाहेक भारत, नर्वे, बेलायत, पोल्याण्ड, श्रीलंका, अमेरिका, बंगलादेश, चीन, इन्डोनेसिया, जापान र फ्रान्स लगायतका देशबाट १२० भन्दा बढी अन्तर्राष्ट्रिय धावकले सहभागिता सुनिश्चित गरिसकेका छन् ।
अन्य देशबाट पनि दर्ता आउने क्रम जारी रहेको जनाइएको छ । काठमाडौं म्याराथनलाई केवल एकदिने प्रतियोगितामा सीमित नराखी शहरव्यापी खेल अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । त्यसका लागि विद्यालय तथा कलेजमा सक्रियता कार्यक्रम, रनिङ क्लबहरूसँगको सहकार्यमा सामूहिक दौड, सामाजिक सञ्जाल अभियान तथा अन्य पूर्वकार्यक्रम सञ्चालन भइरहेका छन् ।
यस्ता गतिविधिले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई दौड संस्कृतितर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ। यस अभियानमा वडा कार्यालय, नगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय समुदायबाट सकारात्मक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ ।
सम्पूर्ण काठमाडौंलाई दौडमय वातावरणमा रूपान्तरण गर्दै यस वर्षको काठमाडौं म्याराथनलाई अझ भव्य, व्यवस्थित र उत्सवमय बनाउने लक्ष्य राखिएको छ। यस वर्षको प्रतियोगिताको नारा ‘Build Healthy Lifestyle’ रहेको छ ।
सीमित संख्यामा मात्र सहभागी गराउन सकिने भएकाले इच्छुक धावकलाई यथाशीघ्र दर्ता सुनिश्चित गर्न आयोजकले आग्रह गरेको छ । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको यो १८ औं संस्करण सफल बनाउन सबै पक्षको सहयोग र सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।
