नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स ले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभाशाली स्पाइकर उषा भण्डारीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

सुमिरा स्पोर्ट्स भेन्चर्सको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किङ्स र उषा भण्डारीबीच तीन वर्षे सम्झौता भएको हो । सम्झौताअनुसार भण्डारीले टोलीको प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा सक्रिय भूमिका खेल्नेछिन् । साथै, अन्नपूर्ण स्पाइकर किङ्ससँग सहकार्य गर्दै नेपाली भलिबलको ग्रासरुट विकास र नयाँ प्रतिभा उत्पादनमा योगदान पुर्‍याउनेछिन् ।

टोलीका सह–मालिक सुबोध त्रिपाठीले उषा भण्डारीसँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाइज लिगलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार दर्शकलाई कभर्डहलसम्म आकर्षित गर्ने र आधारभूत तहबाट भलिबलको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले भण्डारीलाई ब्रान्ड एम्बासडर नियुक्त गरिएको हो ।

उषा भण्डारीले पनि भलिबलकै फ्रेन्चाइज टोलीको पहिलो ब्रान्ड एम्बासडर बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी भण्डारीले माल्दिभ्सका विभिन्न क्लबबाट पनि व्यावसायिक भलिबल खेलिसकेकी छन् । उनले सन् २०१९ मा १४ वर्षको उमेरमै १३औँ दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई नेपालको प्रमुख महिला भलिबल खेलाडीका रूपमा स्थापित गरेकी छन् ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक सञ्चालन हुन लागेको नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । अन्नपूर्ण स्पाइकर किङ्सले उषा भण्डारीसँगको सहकार्यले नेपाली भलिबलको समग्र विकास र भविष्यका प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *