काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी खेल्ने भएका छन् ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । डीएभीका लागि प्रसिद्ध जैशीले २८ बलमा ९ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेले । बिराज जैसवालले ३७, सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे ।
जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट लिए । १३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।
स्वराज चौलागाईंले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदिश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रनको योगदान दिए । डीएभीका लागि कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए ।
डीएभीका प्रसिद्ध जैशी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए । दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डीएभीसँगको भेट पक्का गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । पुलिसका लागि प्रियंशुकिशोर राउतले ३६ रनको योगदान दिए ।
यस्तै मोहम्मदअब्बास साफीले ३२, राकेशकुमार साहले अविजित २१ तथा सुनिल ठाकुरले २० रन बनाए । सैनिकका सफल पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। आभाष केसी र रोशन तिवारीले समान २–२ विकेट हात पारे ।

१४७ रनको लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि राजदिप आचार्यले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ऋषव साहले १९ तथा रोशन तिवारीले ११ रन जोडे ।
पुलिसका प्रियंशुकिशोर राउत, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले समान १–१ विकेट लिए । खेलमा पुलिसका प्रियंशु ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए । अब प्रतियोगिताको उपाधिका लागि पुलिस स्कुल र डीएभीबीच मंगलबार फाइनल प्रतिस्पर्धा हुनेछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सहप्रायोजकमा ई–सेवा रहेको छ । एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेसनल ओभरसिज सर्भिसेज प्रालि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कुल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कुल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक, पाइलट पेन, होप हस्पिटल र लोकल थकालीले सहयोग गरेका छन् ।
