काठमाडौं महानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा ‘चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिप’ को दोस्रो संस्करण बालुवाटारमा वुधबार सुरु हुने भएको छ ।

कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनका अनुसार दुई दिने प्रतियोगितामा वडाका स्थानीय र यस वडामा रहेका विद्यालयमा अध्ययनरत तीन सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । यस वडाले यहाँ रहेका सरकारी चार विद्यालयमा नियमित चेस प्रशिक्षण दिएपछि प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा स्वीस लिग प्रणालीको आधारमा सात राउन्डमा सञ्चालन हुने प्रतियोगितामा गल्र्स र ब्वाइज दुवैमा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ गरी कुल ६ स्पर्धासमावेश गरिएको छ ।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार प्रत्येक स्पर्धाका शीर्ष १० खेलाडीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीको आधारमा स्कुल च्याम्पियन घोषणा गरिनेछ । विजेता, उपविजेता र तेस्रो हुने स्कुलले ट्रफी, प्रमाणपत्रलगायत पुरस्कार पाउनेछन् ।

गत वर्ष आयोजित पहिलो संस्करणमा बाँसबारी माध्यमिक विद्यालय कामपा ४ चेयरमेन कप चेस च्याम्पियन भएको थियो । एनसीसीएस (नेसनल क्रिएटिभ को–एडुकेसनल स्कुल) उपविजेता भएको थियो भने महेन्द्र राष्ट्रिय मावि तेस्रोमा रहेको थियो । गत वर्ष २१ विद्यालयका तीन सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *