पाँचौं ए स्टार नेपाल बास्केटबल लिग २०२६ को क्वार्टर फाइनल खेलहरू आउँदो आइतबार (३२ जेठ) देखि सुरु हुने भएका छन् । नेपाल बास्केटबल लिग युकेले महिला बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरिरहेको यस लिगमा कुल ११ पुरुष र २ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आगामी जुन १४ (आइतबार) का दिन फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म क्वार्टर फाइनल खेलहरू सञ्चालन हुनेछन् । लिग संयोजक सार्थक गुरुङका अनुसार उक्त नकआउट चरणमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
क्वार्टरफाइनलबाट छनोट भएका चार टोलीले सोही भेन्युमा आयोजना हुने सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल खेलहरू जुलाई ४ मा लन्डनको ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने तय भएको छ । लिगको हालसम्मको अंक तालिका (स्ट्यान्डिङ) अनुसार स्यान्डहस्र्ट निक्सले प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको छ ।
त्यस्तै, ग्रिनफोर्ड नाइट्स दोस्रो, डीबीएस तेस्रो र ह्याम्पशायर हुपर्स चौथो स्थानमा रहँदै शीर्ष चारमा पर्न सफल भएका छन् । यस्तै कोलचेस्टर एलिट, बलर्स स्ल्यामर्स, ग्रीनफोर्ड रोभर्स र नर्थोल्ट फ्लेमर्सले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्दै आठ टोलीको नकआउट लाइनअप पूरा गरेका छन् ।
विधागत प्रदर्शनतर्फ, प्रतिखेल औसत २९.४ अङ्क (एएन्) जोड्दै आयुष सिंह लिगको सर्वाधिक स्कोरर बनेका छन् । क्याल्भिन ची २७.० एएन् सहित दोस्रो र सुदन गुरुङ २६.८ एएन् का साथ तेस्रो स्थानमा रहे । थ्री–पोइन्ट सुटिङतर्फ अली अदनानले सर्वाधिक ४३ वटा थ्री–पोइन्टर्स प्रहार गर्दै पहिलो स्थान बनाए भने प्रशांत राईले ३२ र लोमस गुरुङले २८ थ्री–पोइन्टर्स सहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
नेपाल बास्केटबल युकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको अटल उत्साह र दर्शकहरूको अत्यधिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन् । उनले मुख्य प्रायोजकहरू ए स्टार मोर्टगेजेस र ए स्टार फाइनान्सियल सोलुसन्स युके लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत ज्ञापन गरे ।
