काठमाडौं । यान्सुब तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । यान्सुब १५ स्वर्ण, ८ रजत र १० कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

कागेश्वरी मनोहरा नगरपालिको सहयोगमा कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिद्वारा आयोजित प्रतियोगितामा चन्द्र सूर्य तेक्वान्दो डोजाङ १४ स्वर्ण, १२ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको थली तेक्वान्दो डोजाङले ७ स्वर्ण, ४ रजत र १४ कांस्य हात पार्यो ।

शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । ग्योरोगीको पुरुष्मा मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ तथा महिलामा थलीकी पेमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेको पुरुषमा प्रिन्सकुमार राम तथा महिलामा रेन्जिङ चौलागाईं उत्कृष्ट चुनिए । दुवै चन्द्र सूर्यका हुन् ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उप मेयर शान्ता थापा, राष्ट्रिय खेलकुद परिषद्की पूर्व कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, आयोजक समितिका अध्यक्ष राजकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रण तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता गिरिश श्रेष्ठ, रजत विजेता इशाक तामाङ, आयुश साउद र सीमा जर्गा मगर तथा कांस्य विजेता नेरिया श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पदक विजेता सबै कागेश्वरी मनोहरा नगरपालिकाका हुन् । थलीस्थित कागेश्वरी मनोहरा नगरपालिकाको भवन परिसरमा भएको एकदिने प्रतियोगितामा २ सय ५५ खेलाडी विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक समितिका सचिव विश्वास अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *