काठमाडौं । अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पुरुषोत्तम सिलवाल(२०३८) ले १० चरणको प्रतिस्पर्धामा ६ अंक जोड्न सफल भएका छन् । यससँगै उनी उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित भएर नेपाली नगद रु. १६ हजार पुरस्कार हात पारेका छन् । प्रतिस्पर्धामा उत्कृष्ट विदेशी प्रथम उज्वेकिस्तानका सिएम कमत्या कुभोज मिराज र तेश्रोमा स्कटल्याण्डका सिएम बोग्गारापु कृतन घोषित भएका छन् ।
सिलवालले शुरुको खेलमा ११ ओैं वरियताका रुसी ग्रायन्ड मास्टर सभचेन्को बोरिसलाई स्तब्ध पारेका थिए । रुसी जिएम भर्खरै उडिसामा सम्पन्न कीट अन्तर्राष्ट्रिय चेस प्रतियोगिताका विजयी खेलाडी हुन् । नेपाली राष्ट्रिय उपविजेता सिलवालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रसियन जिएम सभचेन्को बोरिस(२४७८), स्कटल्याण्डका सिएम बोग्गारापु कृतन(२१९७), नागा वेङ्कटा(१९३९), पल्किन कौर(१८८०) लाई पराजित गर्न सफल भएका छन् ।
नेपाली खेलाडी सिलवालले स्लोभाकियाका जिएम मानिक मिकुलास(२३०१), भारतीय एफएम आर्नभ अग्रवाल(२२३८), एफएम अंकित राय(२२३०), सिएम शेर्ला प्रथमेश(२११८) सँग बराबरी खेलेर महत्त्वपूर्ण अंक जोडेका थिए । उनले आफू भन्दा उच्च वरियता प्राप्त इजरायली अन्तर्राष्ट्रिय मास्टर लेभिन गाइ(२४८७) र भारतका एफएम सिद्धान्त गवाइ(२२८१) सँग पराजित भएका थिए ।
प्रतियोगितामा पुरुषोत्तमको प्रदर्शन फिडे रेटिङ (२२९७) रह्यो भने उनले (२०३८) मा (१२४) रेटिङ बढाउन सफल भए । ग्रायन्ड मास्टर स्तरको स्पर्धामा ६ अंक जोड्नु निकै सफलता हो । शुरुमा १६२ ओैं स्थानबाट खेलेर ६८ ओैं स्थानमा सिलवालले प्रतियोगिता टुङ्ग्याएका छन् । यसअघि ओडिसामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पनि ८० रेटिङ बढाएका पुरुषोत्तमले गुजारातमा थप १२४ रेटिङ बढाउदै आफ्नो रेटिङ २२३८ पुर्याएका छन् ।
३०६ जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसिया, इजरायल, स्लोभाकिया, फिलिपिन्स, आर्मेनिया लगायत २३ राष्ट्रहरुको सहभागी रहेको थियो । प्रतियोगिताको उपाधि इजरायलका आईएम बेनी आइजेन्बर्ग (२४६६)ले ८ अंकसहित जिते । भियतनामका आईएम गुयेन क्वोक हाइ(२४२२) दोस्रो तथा भारतका जिएम अभिजित गुप्ता(२५४०) तेस्रो स्थानमा रहे । विशेषगरी उच्चस्तरीय ग्रान्डमास्टर्स प्रतियोगितामा उल्लेखनीय रेटिङ वृद्धि गर्नु नेपाली बुद्धिचालका लागि उत्साहजनक उपलब्धि रहेको प्रवक्ता ताम्राकारले जनाए ।
