काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २५–२, २५–५ र २५–२ को सोझो सेटमा सहजै पराजित गर्यो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा न्यु डायमन्ड एकेडेमीले एलिक्सर एकेडेमीलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१२ ले हरायो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ८ टिम सहभागी छन् ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जनाएका छन् ।
उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
