काठमाडौं । यल टेबलटेनिसले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता आफ्ना खेलाडी रिभानमुनि वज्राचार्यलाई नगदसहित शुक्रबार सम्मान गरेको छ ।
भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा रिभानले १ रजत र २ कांस्य गरी ३ पदक जितेका थिए । उनले यु–१५ ब्वाइज डबल्समा रजत तथा यु–१५ ब्वाइज टिम इभेन्ट र सिंगल्समा कांस्य जितेका थिए ।
सोही अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने आफ्ना खेलाडी रिजन शाक्यलाई पनि बिदाइ गरेको थियो । उक्त प्रतियोगितामा रिभान र रिजनसहित नेपालबाट ६ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगिताअघि खेलाडीले इन्चोनमै मे १६ देखि २६ तारिखसम्म याङ योङजा टेबलटेनिस मिसन इन्टरनेसनल क्याम्पमा सहभागी हुने छन् । टोली शनिबार प्रस्थान गर्ने छ ।
दुवैलाई अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्ष एवं खेल प्रेमी सुमन खड्गी, यलका अध्यक्ष राजीव जोशी, उपाध्यक्ष अजय जोशी र सचिव प्रमोद शर्मा, सम्झना ल्याबकी प्रमुख कार्यकारी अधिकृत रजना श्रेष्ठ जोशीलगायतले एक कार्यक्रमबीच सम्मान र बिदाइ गरे । सो अवसरमा सम्झना ल्याबकी प्रमुख कार्यकारी अधिकृत रजना श्रेष्ठ जोशीले दुवै खेलाडीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेकी थिइन् ।
