काठमाडौं । निम्स, ग्रिनफिल्ड र चाँदबागले दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् ।
निम्स सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र चाँदबाग सिनियर गल्र्समा च्याम्पियन बने । नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले विल्सन एकेडेमीलाई १८–८ ले पराजित गर्यो ।
जुनियर ब्वाइजको फइनलमा ग्रिनफिल्डले आयोजक महामञ्जुश्रीलाई ९–६ ले हरायो । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पुष्पसदनलाई १७–३ ले सहजै पाखा लगायो । विजेता ३ मध्ये दुई टोली उपाधि रक्षा गर्न सफल भए ।
सिनियर गल्र्समा चाँदबाग र जुनियर ब्वाइजमा ग्रिनफिल्ड लगातार दोश्रोपटक च्याम्पियन बनेका हुन् । सिनियर ब्वाइजको साविक विजेता विल्सन यसपटक उपविजेतामा सीमित भयो ।
सिनियर ब्वाइजमा निम्सका फुर्वा साङ्गे तामाङ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका अजय मगर र सिनियर गल्र्समा चाँदबागकी अमौलिका खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा सभ्यता, जुनियर ब्वाइजमा एनसीसीएस र सिनियर गल्र्समा स्वर्णिम ‘इमर्जिङ टिम’ चुनिए । सिनियर ब्वाइजमा होली भिजन, जुनियर ब्वाइजमा कोहीनूर र सिनियर गल्र्समा केभीएस, रानीवन अनुशासित टिम ठहरिए ।
विजेतालाई महामञ्जुश्रीका प्रिन्सिपल चुडामणी मरासिनी, भाइस प्रिन्सिपलद्वय हेमलता चाम्लिङ र प्रेम जिसी, बास्केटबल प्रशिक्षक सैलेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रिन्सिपल मरासिनीले यस वर्षझै हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसकै अवसरमा आगामी संस्करण नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
तीनदिने प्रतियोगितामा ४४ विद्यालयबाट सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिम गरी ७२ टिम सहभागी थिए ।
