काठमाडौं । नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ वुधबार स्क्रिनिङ गरिएको छ ।
नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरियो । लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ को रुपमा कबड्डी खेलेको इतिहासलाई पनि देखाइएको छ ।
निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहिन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ ।
अनि ढाका, बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टिमले जितेको ऐतिहासिक पदक, नेपालमै आयोजित १३ औं साग २०१९ र ढाकामा भएको चौथो बंगबन्धु कपका उपलब्धि, चीनमा महिला टिमले हात पारेका १९ औं एसियाली खेलकुद २०२२ र छैटौं एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कांस्यपदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रुपमा समेटेको छ ।
अर्थात्, डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रुपान्तरणलाई संघर्ष र सफलताको कथाको रुपमा चित्रण गरिएको छ । एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरुआतसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रष्ट पारेको छ ।
एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असिम श्रेष्ठ रहेका छन् ।
डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो, जहाँ पत्रकार राजु घिसिङ मोडोरेटर रहँदा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरम्यान अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र राष्ट्रिय खेलकुद परिषदका चिफ कोच (कबड्डी) पार्वती राई प्यानलिस्ट रहेका थिए ।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ जेठ २२ (जुन ५ तारिख) सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
ती टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् स्वदेशी ५४ र बिदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन् । दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले खेल्नेछन् ।
पहिलो सिजनको रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन भएको थियो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी भित्र्याइसकेको छ । फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनर नेपहपको श्रीपेच रहेको छ ।
