काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा सोमबार समान २–२ स्वर्ण जितेका छन् ।

५ स्पर्धा समावेश टेबलटेनिसमा बाँकी १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा एभरेष्टका अच्यूतराज पोखरेल पहिलो, नेपाल बैंक लिमिटेडका ओमकुमार दोश्रो र निगमका विश्वास गौतम तेश्रो भए । सोही स्पर्धाको महिलामा निगमकी मेणुका चाम्लिङले स्वर्ण तथा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले रजत जिते ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा एभरेष्टका अच्यूत र सरल रेग्मी तथा नागरिक उड्डयनका सन्तोष अवाले र रुपचन्द्र केसीको जोडी क्रमशः पहिलो र दोश्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा नागरिक उड्डयनका सरस्वती डुम्रे र सुष्मा थापाको जोडी पहिलो तथा नेपाल विद्युत प्राधिकरणका गीता घिमिरे र मिता आचार्यको जोडी दोश्रो बने ।

एक्जिक्युटिभ पुरुष सिंगल्समा निगमका प्रितमप्रसाद प्रधान प्रथम तथा नेपाल विद्युत प्राधिकरणका सुमन श्रेष्ठ द्वितीय भए । विभिन्न ५ स्पर्धामा ३९ प्रतियोगी सहभागी थिए ।

भृकुटिमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा भएको ६ स्पर्धा समावेश ब्याडमिन्टनमा सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुष सिंगल्समा विद्युत भक्तराज जोशी, कृषि विकास बैंकका टक्कर कुँवर, कृषिका राजकुमार निरौला र विद्युतका मंगेश तामाङ सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको महिलामा विद्युतका यामकुमारी गुरुङ र जुनु घर्ती, नागरिक उड्डयनकी सुस्मिता रावत तथा कृषिकी दीपिका राईले सेमिफाइनलमा स्थान पक्का गरे ।

एक्जिक्युटिभ पुरुष डबल्समा एनटीसीका सुजितआनन्द मल्ल र हरिकृष्ण शर्मा, विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठ, विद्युतकै बासु कोलोनी र लोकेन्द्र साउद तथा कृषिका रमेशकुमार अर्याल र सञ्जयराज श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्समा एनसेलका सुकान्त अधिकारी, कृषिका बसन्त थापा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रणबहादुर ऐरी र विद्युतका छवी भट्टराईले सेमिफाइनलमा स्थान बनाए । पुरुष डबल्समा विद्युतका विनोद अधिकारी र भक्तराज जोशी, कृषिका विजय जोजीजु र रमन राई, विद्युतका श्याम महर्जन र विष्णु मास्के तथा कृषिका टक्कर कुँवर र राजकुमार निरौलाले सेमिफाइनल यात्रा तय गरे ।

५० वर्षमाथि पुरुष डबल्समा एभरेष्टका दीपक महर्जन र सुमनराज श्रेष्ठ, जनक शिक्षा सामाग्री केन्द्र जितेन्द्र राजथला र रामविनय श्रेष्ठ, विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्के तथा कृषिका सञ्जयराज श्रेष्ठ र बसन्त थापाको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ब्याडमिन्टनमा ७४ प्रतिस्पर्धी सहभागी छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताल एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले सम्बन्धित सबै क्षेत्रलाई समेटेर प्रतिष्ठानको दायरा फराकिलो बनाउन सके प्रतिष्ठानको गरिमा अझ उचो हुने धारणा व्यक्त गरे । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिससहित फुटसल र बुद्धिचाल गरी ४ खेल समावेश छन् । प्रतियोगिता जेठ १० गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *