मोरङ । मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा सलहेश युवा क्लबले भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सुन्दर खोर्सानी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको हो । ट्राइब्रेकरमा सलहेश युवा क्लब सिराहाले ५–४ गोल अन्तरले जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको सुरुआतदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । पहिलो हाफमा सिराहाले उत्कृष्ट खेल प्रदर्शन गर्दै अग्रता बनाएको थियो । सलहेश युवा क्लबका राजेश दाहाल ले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा रोहन कार्कीले अर्को गोल थप्दै सिराहाको पकड बलियो बनाएका थिए ।
तर दोस्रो हाफमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो हाफको चौथो मिनेटमा नयन प्रधान ले गोल गर्दै टोलीलाई खेलमा फर्काए भने त्यसको पाँच मिनेटपछि सदिश राई ले बराबरी गोल गर्दै खेललाई थप रोमाञ्चक बनाएका थिए ।
निर्धारित समयमा दुवै टोली बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सिराहाले संयमित प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । खेलभर उत्कृष्ट प्रदर्शन गरेका सलहेश युवा क्लबका राजेश दाहाल “प्लेयर अफ द म्याच” घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको उक्त खेलमा राज कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिले मैदान थप उत्साहपूर्ण बनेको थियो ।
प्रतियोगिता अन्तर्गत जेठ ४ गते हुने तेस्रो क्वाटरफाइनल खेलमा सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
