काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औं उपाधि हात पारे । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद हात पारे ।

एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४–अन्डर ६४ सहित  समग्रमा ९–अन्डर २ सय ६३ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। दोस्रो भएका दिनेशले ९० हजार जिते । शुक्र बहादुर राईले इभन–पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८–अन्डर २ सय ६४ सहित चौथो भए । उनले ७० हजार प्राप्त गरे ।

निरजले पनि इभन–पार ६८ खेल्दै समग्रमा ७–अन्डर २ सय ६५ को स्कोरमा पाँचौं हुँदा ५५ हजार नगद पुरस्कार पाए । १–ओभर ६९ खेल्दा समग्रमा ६–अन्डर २ सय ६६ सहित धन बहादुर थापा छैटौं भए । उनले ४६ हजार पाए ।

समग्रमा ५–अन्डर २ सय ६७ सहित रामे मगर सातौं, समग्रमा ४–अन्डर २ सय ६८ सहित रवि खड्का आठौं, समग्रमा २–अन्डर २ सय ७० सहित भुवन कुमार रोक्का र समग्रमा १–अन्डर २ सय ७१ सहित एमेच्योर स्वप्निल भट्टराई दशौं भए । रामेले आज इभन–पार ६८, रविले २–अन्डर ६६, भुवनले १– अन्डर ६७ को कार्ड बनाए । उनीहरूले ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे ।

एमेच्योरतर्फ समग्रमा ९–अन्डर २ सय ६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे। स्वप्निल दोस्रो भए । आज १–अन्डर ६७ खेल्दै उनले समग्रमा १–अन्डर २ सय ७१ को स्कोर निकाले । अन्तिम दिनको सुरूवात गर्दा भुवनसँग ३ स्ट्रोकको अग्रता रहेको थियो । यही अग्रतालाई जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन–पार ३४ मा पुरा गरे । चौथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले नवौं होलमा डबल बोगी खेपे । यसपछि ब्याक नाइनको सबै होलमा पार जोगाए ।

राहुलले चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ खेले। यसपछि १० औं, ११ औं र १३ औं होलमा पनि बर्डी प्रहार गरे भने १५ औं होलमा एक सट खेर फाले । ब्याक नाइन पनि २–अन्डर ३४ मा सकाए । दिनेशले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । तेस्रो होलमा एक सट खेर फाले पनि चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि १० औं र १६ औं होलमा पनि एक–एक सट बचाए ।

प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको थियो। जहाँ उत्कृष्ट १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *