काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने याङ यङ जा टेबलटेनिस मिसन (वाइटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिवीरमा सहभागी ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन प्रस्थान गरेको छ ।
प्रशिक्षण शिवीरपछि यिनै खेलाडीले मे २७ तारिखमा हुन अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रशिक्षण शिवीर र प्रतियोगितामा सहभागी हुने खेलाडीमा यु–१३ मा रिभानमुनि बज्राचार्य र प्राज्ञा महर्जन, यु–१६ मा रिजन शाक्य र सुरम्या शाक्य तथा यु–१९ मा हिमाल बिष्ट र योङ्गी पौडेल रहेका छन् ।
टोली व्यवस्थापकको रूपमा हान्न को रहेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
यस प्रशिक्षण शिविरका लागि खेलाडी छनोट गत अक्टोबर ५, २०२५ मा ललितपुरको भैंसेपाटीस्थित नेपाल एपीएम क्लबमा भएको थियो ।
प्रतियोगितामा यु–१३, यु–१६ र यु–१९ उमेरसमूहका छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधाका विजेता खेलाडीलाई दक्षिण कोरियाको प्रशिक्षण शिविरका लागि छनोट गरिएको कोषाध्यक्ष महर्जनले जानकारी दिए ।
प्रशिक्षण शिविरमा नेपालसहित फिलिपिन्स, लाओस र मंगोलियाका गरी २५ जना खेलाडीहरूको सहभागिता रहने छ ।
उक्त शिविरको नेतृत्व सन् १९८८ की ओलम्पिक स्वर्ण विजेता दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ यङ जा ले गर्नेछिन् । सहभागी खेलाडीहरूले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाउने छन् ।
याङ यङ जा विगत ७ वर्षदेखि नेपाली टेबलटेनिसको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएकी छन् । उनले नेपालमा तीन पटक टेबलटेनिस क्लिनिक सञ्चालन गरिसकेकी छन् भने नेपाली युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा विकासका लागि निरन्तर योगदान पुर्याउँदै आएकी छन् ।
टोलीलाई कोषाध्यक्ष महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबारै बिदाइ गरेका छन् ।
