विराटनगर । आयोजक बुढीगंगा पालिका टिमलाई पराजित गर्दै धरान फुटबल क्लब, सुनसरी प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेक छ ।
सोमबार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाही खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजकलाई हराउँदै धरानले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।
धरानको जितमा तपन कार्की र सबिन राईले गोल गरे ।खेलको म्यान अफ दि म्याच धरानका सबिन राई चुनिए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार खेल नाइजेरियाको जस्ट जोन फुटबल क्लब र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबबीच चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिइने छ ।
