झापा । प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडसँग स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ ।

ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिन आइतबारको खेलमा चर्च ब्वाइज ३-२ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो । थिम्पुकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा मरियमले नै दोस्रो गोल थपिन् । वर्षा ओलीले मिलाइदिएको पासमा उनले प्रहार गरेको एक्रोब्याटिक प्रहारले थिम्पुका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

२-० को अग्रता बनाएको चर्चले ब्वाइज दोस्रो हाफको चौथो मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्च ब्वाइजकी गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भयो ।

अर्काे गोल उपहारमार्फत पायो । ५८ औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । ७९ औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको थिम्पुले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो ।

मैदानको मध्य भागमा पाएको बललाई वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् । उनकै गोलको मद्दतले चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी मरियम खातुन भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी तथा दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि घरेलु महिला फुटबलमा नेपालकै सर्वाधिक हो ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *