काठमाडौं । कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै ‘एक्सट्रिम इनर्जी ड्रिंक’ कर्पोरेट टी–१० लिगको आधिकारिक ‘एनर्जी पार्टनर’ बनेको छ ।
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारी र एक्सट्रिम इनर्जी ड्रिंकका इभेन्ट म्यानेजर सुजल राणाबीच आज औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा दुवै पक्षले खेलकुद प्रवर्द्धन तथा कर्पोरेट क्षेत्रलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टी–१० लिगलाई आर्थिक सहयोग गर्नुका साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ ।
सहकार्यप्रति उत्साह व्यक्त गर्दै एक्सट्रिम इनर्जी ड्रिंकका इभेन्ट म्यानेजर सुजल राणाले यस साझेदारीले खेलाडीहरूको ऊर्जा र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई खेलप्रतिको जोश र उत्साहलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ अघि बढाइएको बताए ।
त्यस्तै, काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीले एक्सट्रिम इनर्जी ड्रिंकजस्तो ब्रान्डसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनले पछिल्लो समय उक्त ब्रान्ड खेलकुद प्रायोजनमा सक्रिय रहेको उल्लेख गर्दै यसलाई एनर्जी पार्टनरका रूपमा पाउनु आफूहरूका लागि खुशीको विषय भएको बताए। साथै, यस साझेदारीले लिगलाई थप सशक्त र प्रभावकारी बनाउनुका साथै कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ ।
