काठमाडौं । साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो ।
लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंक बहादुर कार्कीलाई ३÷२ ले हराउँदै उपाधि जितेका हुन् ।
जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे । रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले निरजलाई उछिन्न सकेनन् ।
नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए । १८औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे । तर २२औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए। ५–० ले पछि परेका टंकले २३औं, २४औं र २५औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३औं होल निरजले जिते भने ३४औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३÷२ को जितका साथ उपाधि रक्षा गरे ।
टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके। टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३÷१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे । तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो । क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे । पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे ।
