ललितपुर । नेपाल बुद्धिचाल महासंघले आगामी राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्ने सम्बन्धमा निर्णयहरू गरेको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले विभिन्न प्रतियोगिताको मिति, स्थान र व्यवस्थापनको जिम्मेवारी तय गरेको हो ।

बैठकले वैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौंस्थित क्षेत्रपाटी क्लबलाई दिइएको छ । त्यसैगरी, जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७औं खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि नेशनल ‘बी’ छनोट प्रतियोगिता आयोजना गरिनेछ । यस प्रतियोगिताको व्यवस्थापन काँकडभिट्टास्थित नाइट चेस क्लबलाई दिइएको छ । छनोट प्रतियोगिताबाट पुरुष र महिला दुवैतर्फबाट ९/९ जना खेलाडी नेशनल ‘ए’ का लागि छनोट हुनेछन् ।

नेशनल ‘ए’ स्तरको पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिता भने जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ । यस प्रतियोगिताबाट समान चार/चार जना खेलाडी उज्बेकिस्तानमा आयोजना हुने ४७औं चेस ओलम्पियाडका लागि छनोट गरिने महासंघले जनाएको छ । यसैबीच, वार्षिक रूपमा आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगितामध्ये नेशनल जुनियर चेस च्याम्पियनसिप जेठ १० देखि १२ गतेसम्म ललितपुरमा गर्ने निर्णय पनि गरिएको छ ।

महासंघले आफ्नो नियमित साधारणसभा मधेस प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ । निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरेका २० जिल्ला संघहरू रहेको जनाउँदै, बाँकी जिल्लाहरूमा चेस गतिविधिको अवस्था मूल्यांकन गरी आवश्यक परे तदर्थ समिति गठन गरिने बताइएको छ ।

अनुगमनका लागि अध्यक्ष महर्जन संयोजक रहने उपसमिति गठन गरिएको छ, जसमा वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहेका छन् । उक्त उपसमितिले एक साताभित्र प्रतिवेदन तयार गरी वैशाख १२ गते बस्ने कार्यसमिति बैठकमा पेश गर्नेछ ।

यसैगरी, नेशनल रापिड तथा ब्लिट्ज चेसका प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार र नेशनल ‘बी’ छनोट प्रतियोगिताका प्रमुख निर्णायकमा एफए भुपेन्द्र निरौलालाई जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *