प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत २१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेश लज्जास्पद रूपमा मात्र ४६ रनमा समेटिएको छ । योसँगै बागमती १६३ रनले पराजित भएको छ ।
सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा बागमती ११.२ ओभरमै अलआउट भएको हो । सुरुवातदेखि नै दबाबमा परेको बागमतीका ब्याटरहरू कुनै पनि समय लयमा देखिन सकेनन् ।
ओपनर आशुतोष घिरैया शून्य रनमै आउट हुँदा पवन थापा र इशान पाण्डे पनि लगातार बलमा शून्यमै पभेलियन फर्किए । शुभ कंसाकारले ३२ रन बनाउँदै केही संघर्ष गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन् ।
कप्तान सन्दीप लामिछाने समेत शून्यमै आउट भएपछि बागमती सस्तैमा समेटियो ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले ६ ओभरमा मात्र १४ रन खर्चेर ७ विकेट लिएर बागमतीको ब्याटिङ ध्वस्त पारे । शेर मल्लले ३ विकेट लिए भने नारायण जोशी विकेटविहीन रहे ।
त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको सुदूरले ४१.१ मा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो ।
यो जितसँगै सुदूरले ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजित बागमी भने समान खेलबाट ६ अंक रहेको छ ।
