एपीएफसँग सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पराजित भएकाे छ । साेमबार भएको खेलमा सुदूरपश्चिम एपीएफसँग ४५ रनले पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
पिएम कपमा सुदूरपश्चिमले दोस्रो हार व्यहोरेहो हो । ५ खेलमा जित र २ खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमभन्दा एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब तालिकाको शीर्ष स्थानमा छ ।
बलियो टोली सुदूरपश्चिमलाई हराएको एपीएफ ७ अंकमा तालिकाको छैटौँ स्थानमा रह्यो । पुलिस क्लब, लुम्बिनी प्रदेश, मधेश प्रदेश र एपीएफको तालिकामा समान ७ अंक छ ।
एपीएफले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा २ सय १४ रनमा अलआउट भयो । सुदूरपश्चिमका अशोक धामीले अर्धशतक पूरा गरे ।
ओपनर अविशेक पलले ४४, दिपक बोहोराले २४ र मिलन बोहोराले २३ रन थपे। खडक बोहोरा १६ र नरेन भट्ट १५ रनमा आउट भए । एपीएफका युवराज खत्रीले ५ विकेट लिए। अविशेक गौतमले २ विकेट लिए । कमल ऐरि र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे ।
त्यसअघि जनकपुरको रामजानकी बहुउदेश्यीय स्टेडियममा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५९ रनको योगफल तयार पारेको हो ।
एपीएफका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे । उनले ४५ बलमा ९ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए । लोकेश बलमे ४७ र ओपनर दीपक बोहोराले ४६ रन थपे । कमल ऐरि १३ रनमा अविजित रहे । अमर राउटेला १२ र कप्तन रोहित पौडेलले ११ रन बनाए । अन्य चार ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
सुदूरपश्चिमका लागि शेर मल्लले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४५ रन दिए । विकास अग्री र अशोक धामीले समान २ विकेट लिए । हेमन्त धामी र नरेन भट्टले समान एक विकेट आफ्नो नाममा गरे ।
