साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनलमा युवा समाजले मछिन्द्रलाई सडेनडेथमा ५–४ ले हराउँदै उपाधिनजिक पुगेको हो ।
निर्धारित समयमा दुवै टोलीले ३–३ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यहाँ पनि ४–४ को बराबरी भएपछि निर्णय सडेनडेथबाट गरिएको हो । सडेनडेथमा मछिन्द्रका युवराज ढकालको प्रहार असफल हुँदा पदम भट्टराईले निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।
खेलमा पदम भट्टराई ‘प्लेयर अफ द म्याच’ घोषित भए । अब फाइनलमा पुग्ने अर्को टोली शनिबार हुने सातदोबाटो युथ क्लब र प्लानिङ ब्वाइजबीचको खेलबाट तय हुनेछ । फाइनल बैशाख ७ गते हुने छ ।
