सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ ।

हैदराबादमा शनिबार राति भएको खेलमा हैदराबादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । उसका लागि अभिषेक शर्मा र हेनरिक क्लासेन ले अर्धशतक बनाए । अभिषेकले १५ बलमा तीव्र अर्धशतक बनाउँदै ५९ रन जोडे ।

क्लासेनले ३३ बलमा ५९ रन बनाए । चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए । १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुआत राम्रो गरेको थियो ।

युवा खेलाडी आयुष म्हात्रे ले आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाए । तर उनको चोटपछि चेन्नईको इनिङ्स कमजोर बन्दै गयो र टोली लक्ष्य नजिक पुगेर पनि सफल हुन सकेन ।

हैदराबादका लागि बलिङमा ईशान मलिंगा ले ३, नितिश कुमार रेड्डी ले २ तथा शिवाङ कुमार र साकिब हुसेनले समान १ विकेट लिए । एक समय चेन्नईलाई जितका लागि ६० बलमा ८४ रन आवश्यक थियो र ७ विकेट बाँकी थियो ।

तर हैदराबादका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारे । यो जितसँगै सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *