काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने १०औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग बैशाख १० गतेदेखि सुरु हुने भएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो । प्रतियोगिता बैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दशरथ रंगशालास्थित कभर्डहलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले समान १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ६०/६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य उत्कृष्ट खेलाडीलाई ३०/३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उपत्यका बाहिरबाट सहभागी टोलीका खेलाडीलाई बसोबास र खानाका लागि प्रतिव्यक्ति दैनिक १२ सय रुपैयाँ उपलब्ध गराइनेछ भने उपत्यकाभित्रका खेलाडीलाई ३०० रुपैयाँ दिने व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। साथै, प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् ।
यस संस्करणमा तीन विभागीयसहित कुल १४ टोलीको सहभागिता रहनेछ, जसमा ८ पुरुष र ६ महिला टोली प्रतिस्पर्धामा उत्रनेछन् । प्रतियाेगिताकाे पत्यक्ष प्रसार हिमालयन टेलिभिजनबाट हुनेछ ।
