एन्फा राष्ट्रिय लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले चित्लाङ एफसीलाई ५–२ गोलले पराजित गरेको हो ।
प्लानिङको जितमा पापा इबु केबेले दुई गोल गरे भने एलेक्स विलेनि, निङ्मा गुरुङ र प्रतापसिंह राईले समान एक–एक गोल थपे ।
खेलको २२औं मिनेटमा सोलोमो इलिसाबिले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । उनले नै ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । तर त्यसपछि प्लानिङ ब्वाइजले शानदार पुनरागमन गर्दै लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
यस जितसँगै ११ खेलबाट प्लानिङ ब्वाइजले २२ अंक जोडेको छ । समान खेल खेलेको चित्लाङ एफसीको भने ७ अंक मात्रै रहेको छ ।
