काठमाडौं । लेजरपोर्ट नेपालद्वारा आयोजित काठमाडौं पिंक केयराथन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सम्पन्न भएको छ ।

महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार कार्यक्रम बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो ।

हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) प्रथम, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) द्वितीय र सरस्वती भट्टराई (नेपाल आर्मी) तृतीय भएका छन् ।

त्यस्तै १० किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) प्रथम, आशा राउत (सशस्त्र प्रहरी) द्वितीय र सुमित्रा चौधरी (नेपाल प्रहरी) तृतीय भएका छन् ।

हाफ म्याराथनका विजेताहरुलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

१० किलोमिटर दौडका विजेतालाई क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०/१० जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए । अध्यक्ष नमराज जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *