केराबारी (मोरङ) । सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै द योङ ब्रदर्स क्लब सुनसरी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
केराबारी-८ स्थित केराबारी रङ्गशालामा शुक्रबार भएको तेस्रो क्वार्टरफाइनलमा खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै द योङ ब्रदर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
द योङ ब्रदर्सको जितमा असिम राईले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३८औं मिनेटमा निर्णायक गोल गरेका हुन् । असिम नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
शुक्रबार आयोजक केराबारी एफसी मोरङ र चित्लाङ एफसी काठमाडौंकाबीच चौथो क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, केराबारी, मोरङ हो ।
फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
