धरानमा जारी बुढासुब्बा गोल्डकपमा साविक विजेता न्यु रोड टिम (एनआरटी) पहिलो खेलमै स्तब्ध बनेको छ ।

धरान रंगशालामा शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग २–० गोलले पराजित हुँदै एनआरटी प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्लानिङ ब्वाइजका लागि विदेशी खेलाडी केबेले पहिलो हाफको ४३औं मिनेटमा गोल गरे भने दोस्रो हाफको ४१औं मिनेटमा श्याम मुर्मुले दोस्रो गोल गरे ।

एनआरटीको यो पराजयसँगै लगातार तेस्रो पटक र समग्रमा चौथो पटक बुढासुब्बा गोल्कडपमा च्याम्पियन बन्ने सपना तुहिएको छ । यसअघि एनआरटीले बुढासुब्बा गोल्डकपको १०औं, २४औं र २५औं सँस्करणमा पनि उपाधि जितेको थियो ।

जितसँगै प्लानिङ ब्वाईज युनाइटेड प्रतियोगिताको सेमीफाइनलमा समेत प्रवेश गरेको छ । प्लानिङ ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको टोली हो । 

खेलको म्यान अफ दि म्याच प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमाल घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । आइतबार गत बर्षको उपविजेता तथा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फाल्गुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *