धरान (सुनसरी) । आयोजक धरान फुटबल क्लबलाई हराउँदै लालीगुराँस एफसी पोखरा २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रंगशालामा आज (सोमबार) भएको तेस्रो क्वार्टरफाइनलमा धरानलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै लालीगुराँसले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टाइब्रेकरमा धरानका दोर्जे तामाङले गरेको प्रहार लालीगुराँसका गोलकिपर कुम्बा देउवाले ब्लक गर्दै जित सुनिश्चित गरे । टाईब्रेकरमा लालीगुराँसका राम थापा, टिकाराज गुरुङ, सुदिप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गरे ।

टाईब्रेकरमा धरानका बिबेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार विफल भएको थियो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोली गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

खेलको म्यान अफ दि म्याच लालीगुराँसका गोलकिपर कुम्बा देउवा घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी गरे ।

मंगलबार झापा–११ र सातदोबाटो युथ क्लबबीच चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । सातदोबाटो युथ क्लब पहिलो पटक धरान आएको हो ।

फाल्गुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *