केराबारी (मोरङ) । इन्जुरी समयमा निरज परियारको गोलसँगै आयोजक केराबारी एफसी मोरङ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

केराबारी-८ स्थित केराबारी रङ्गशालामा शनिबार भएको अन्तिम क्वार्टरफाइनलमा खेलमा चित्लाङ एफसी काठमाडौं १-० ले पराजित गर्दै केराबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको दुवै हाफमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा जाने अवस्था देखिएको थियो ।

तर दोश्रो हाफको इन्जुरी समयको अन्त्यतिर निरजले चित्लाङविरुद्ध गोल गरेसँगै खेलमा केराबारीको जित पक्का भयो । जितसँगै केराबारी सेमिफाइनलमा पुग्दा चित्लाङ भने पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता निरज परियार घोषित भए । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

आइतबार झापा-११ झापा र द योङ ब्रदर्स क्लब सुनसरीकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, मोरङ हो ।

फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *