काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता-२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् ।

महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ भने पुरुषतर्फ कोशी प्रदेशले फराकिलो जित हात पारेको छ ।

महिलातर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४-० गोलअन्तरले पराजित गर्यो । गण्डकीका लागि अंकिता अधिकारीले १४ औं र ६० औं मिनेटमा दुई गोल गरिन् ।

त्यस्तै २०औं मिनेटमा बुद्धी माया मगर र ३७ औं मिनेटमा सीता माया बलले एक-एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गण्डकीकी सीता माया बल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई १-० गोलअन्तरले हरायो । मधेशका लागि ४२औं मिनेटमा प्रीति दासले निर्णायक गोल गरिन् । उत्कृष्ट प्रदर्शनका लागि मधेशकी प्रीति दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।

यसैगरी पुरुष तर्फको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ७-० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो । कोशीका लागि सुदीप चौधरीले ७ औं, ३८ औं र ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

त्यस्तै, लक्ष्मण समारियाले ३७ औं र ४४ औं मिनेटमा दुई गोल गरे भने ५० औं र ५९ औं मिनेटमा कबिराज सञ्जेलले दुई गोल थपे । उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका सुदीप चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ । शनिबार फाइनल खेल सञ्चालन हुने महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ ५ टोली सहभागी छन् । दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *