पोखरा । पोखरामा शनिवार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्यान्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो ।
त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई ह्यान्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा तमु धिं एसोसिएसन युकेका उपाध्यक्ष कमल कोने गुरुङ, सहारा क्लब युकेका सल्लाहकार कृष्ण गुरुङ, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम प्रसाद गुरुङ, सुटिङ सङ्घ गण्डकीका महासचिव पूरण कुँवरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेश ह्यान्डबल सङ्घका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा सङ्घकी उपाध्यक्ष शान्ति थापा वैद्य, महासचिव राजेन्द्र पहाडी, कोषाध्यक्ष शान्त सिंह बस्नेत, जिल्ला ह्यान्डबल सङ्घ कास्कीका अध्यक्ष चित्र बहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारीलगायतको सहभागिता रहेको थियो । सो प्रतियोगिता आसन्न दसौँ राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियागताका रूपमा आयोजना गरिएको थियो ।
