बिर्तामोड । आयोजक टोली झापा-११ फुटबल क्लबले कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पहिलो क्वार्टर फाइनल खेलमा सिक्किम (भारत) को सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै झापा-११ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापा-११ का रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गरे । सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे पनि सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाए । दिपेश क्षेत्रीको प्रहार भने पोस्ट बाहिरिएको थियो ।

खेल अवधिभर झापा-११ ले विपक्षीमाथि दबाब कायम राख्यो । झापाका आधा दर्जनभन्दा बढी अवसर खेर गए । खेलको २८ औं मिनेटदेखि झापाले आक्रमण तीव्र बनाएको थियो । विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले उत्कृष्ट बचाउ गरेका थिए ।

३८ औं मिनेटमा समिर तामाङको प्रहार र ४९ औं मिनेटमा गोलकिपर बिट भइसकेपछि गरिएको हेडर गोलमा परिणत हुन सकेन । खेलको अन्त्यतिर मौसम सुब्बाले गरेको प्रहारलाई पनि सिङ‌लिङका गोलकिपरले पञ्च गर्दै रोकेका थिए । ५९ औं मिनेटमा सिङलिङका कप्तान उत्तम राईले वान-टु-वान अवसर पाए पनि गोल गर्न असफल भए ।

खेलको प्लेयर अफ द म्याच झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

भोलि मंगलबार हुने दोस्रो क्वार्टर फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल, पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछ । साथै उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *